३१ भदौ
चिनियाँ अधिकारीले आफूले बनाइरहेको कोरोना भाइरस विरूद्धको खोप तीन महिनाभित्रै आउने बताएका छन्। उनीहरूले यो खोप आगामी नोभेम्बरको सुरूमै आममानिसको प्रयोगका लागि उपलब्ध हुने बताएका साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बर वा डिसेम्बरमा आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ कम्पनीहरूले बनाइरहेका चार वटा भ्याक्सिन अहिले तेस्रो चरणको परीक्षणको क्रममा रहेका छन्। तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको छ।

वुले पछिल्लो समय आफूले पनि भ्याक्सिन लगाएको तर त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन्। उनले कुन खोप लगाएकी हुन् भन्ने चाहिँ खुलाएकी छैनन्।

सिनोफार्म र सिनोभ्याक बायोटेकले राज्यको आपतकालीन प्रयोग कार्यक्रमअन्तर्गत तीन वटा खोप बनाइरहेका छन् भने क्यान सिनो बायोलोजिक्सले बनाएको खोपलाई गत जूनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो।

गत जुलाईमा सिनोफार्मले सन् २०२० को अन्त्यसम्ममा आफूले बनाएको खोप आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो।

संसारभरिका खोप निर्माता कम्पनीहरू अहिले कोरोना भाइरस विरूद्धको प्रभावकारी खोप बनाउने दौडमा छन्।