२५ जेठ

काठमाडौं । कोरोना भाइरसको उद्गम देश चीनमा कोरोना पूर्णरुपले नियन्त्रणमा आएको दावी गरेको पनि दुई महिना नाघिसकेको छ ।

तर चीनमा कोरोना संक्रमितहरु अझै पनि देखिएका छन् । पछिल्लो तीन दिनको मूल्यांकन गर्ने हो पनि हरेक दिन संक्रमित थपिएका छन् । आइतबार मात्रै ६ जना संक्रमित थपिएका छन् । त्यसअघि शनिबार ३ जना र शुक्रबार ५ जना नयाँ संक्रमित थपिएका थिए ।

बिहीबार १ जना, बुधबार ०, मंगलबार ४ र सोमबार १६ जना नयाँ संक्रमित थपिएका थिए ।  अहिलेसम्म चीनमा ८३ हजार ३६ जना संक्रमित भएका छन् । ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

चीनमा कोरोनाबाट ज्यान नगएको भने एक महिना नै हुन लागिसक्यो । ७८ हजार ३३२ जनालाई निको भएको छ । अहिले मात्र ७० जना संक्रमित छन् । तीमध्ये ६९ जनाको अवस्था सामान्य छ भने १ जनाको अवस्था गम्भीर छ ।

त्यहाँ ९४ प्रतिशत डिस्चार्ज हुँदा ६ प्रतिशतको ज्यान गएको छ । चीन अहिले सामान्य अवस्थामा फर्केको छ । तर त्यही देशबाट फैलिएको कोरोनाले भने विश्वमा नराम्रोसंग असर पारेको छ ।

कोरोना संक्रमण डिसेम्बर अन्त्यदेखि चीनको वुहानमा देखिएको थियो । सुरुआती दुई महिना शीर्ष स्थानमा रहेको चीन अहिले भने विश्वको १८ औं स्थानमा झरेको छ ।