२२ जेठ
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । बिहीबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ६३८ जना संक्रमित थपिएका छन् ।

यो अहिलेसम्मकै बढी हो । बुधबार बिहानसम्म त्यतिन्जेलको सबैभन्दा बढी संक्रमण भएको थियो । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो ।  त्यो रेकर्ड फेरि तोडिएको छ ।

त्यस्तै मृतक २४ घण्टामा २५९ जना थपिएका छन् । यसअघि बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए । शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए ।

अहिलेसम्म कोरोनाबाट २ लाख १६ हजार ८२४ जना संक्रमित भएका छन् । १ लाख ४ हजार ७१ जनालाई निको भएको छ । २४ घण्टामा ३ हजार ७८६ जनालाई निको भएको छ ।

मृतकको संख्या ६ हजार ८८ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।

सबैभन्दा बढी ब्रजिलमा २७ हजार ३१२, दोस्रो स्थानको अमेरिकामा २० हजार ५७८ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ५३६ जना संक्रमित भएका छन् ।

यसैबीच भारतमा लकडाउनमा परिवर्तन गरि अनलक शुरु गरिएको छ ।  भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुनदेखि ३० जुनसम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ ।

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।