५ असोज ,पर्बत जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरको आयोजनामा वडा भित्र रहेका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभाबक संघका अध्यक्षहरु, प्रधानाध्यापक, जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरु बीच शैक्षिक सुधारका लागि आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सामुदायिक शिक्षा सुधारका लागि २५ बुँदे साझा प्रतिबद्धता समेत ब्यक्त गरिएको छ ।

उक्त प्रतिबद्धता पत्रमा आगामी शैक्षिक सत्र देखि सबै बिद्यालयहरुले गणित बिज्ञान र कम्प्यूटर जस्ता बिषयहरु अंग्रेजी माध्यममा संचालन गर्ने, प्रारम्भिक बाल कक्षाहरुलाई मनोरन्जन पूर्ण, सिकाइयोग्य, सुबिधा सम्पन्न, र बालमैत्री बनाउने, शिक्षण सिकाई पद्धतिमा सुधार गर्ने, शिक्षकहरुका लागि बिभिन्न किसिमका तालिमको ब्यबस्था गर्ने, आबधिक शैक्षणिक योजनाहरु निर्माण गरी प्रभाबकारी कार्यन्वयन गर्ने, बिद्यालयलाई भय रहित बालमैत्री, स्वच्छ सरसफाइ युक्त, रमणीय, शान्ति क्षेत्रको रुपमा बिकास गर्ने, प्रति शिक्षक एक झोला, एक डायरीको ब्यबस्था गर्ने, बिधालयको नियमित अनुगमन सुपरीबेक्षण गर्ने, मूल्यांकन पद्धतिमा सुधार गर्ने, सिकाई उपलब्धि कम भएका बिद्यार्थीका लागि उपचारात्मक शिक्षणको ब्यबस्था गर्ने लगायतका कुराहरु समेटिएको छ ।

त्यसैगरी शिक्षक बिद्यार्थी नियमितताका लागि बिद्युतीय हाजिरि, दिवा खाजाको ब्यबस्था, ब्यक्तिगत प्रोफाइल निर्माण, कार्य सम्पादनमा आधारित प्रोत्साहन, प्रत्येक बिद्यालयमा सूचना प्रबिधिको पहुँच पुर्याउने, बिद्यालय समुदाय बीचको सम्बन्धमा सुधार गरी शैक्षिक बिकासमा समुदायको लगानी बृद्धि गर्ने, भौतिक सुबिधाहरुको बिस्तार गर्ने, वडा स्तरीय अन्तर बिद्यालय प्रतिस्पर्धाहरुको आयोजना गर्ने लगायतका बुदाहरु सो प्रतिबद्धतामा उल्लेख गरिएको छ । साथै शैक्षिक प्रयोजन बाहेक कक्षा कोठामा शिक्षक बिद्यार्थीहरुले मोबाइल फोन प्रयोग गर्न निषेध गर्ने निर्णय गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा तत्काल शैक्षिक सुधारका लागि ३ महिने कार्ययोजना समेत तैयार गरिएको छ । सो कार्य योजनामा योजनाबद्ध शिक्षण सिकाई, बिद्यालयको समयपालना , शिक्षक बिध्यार्थी आचार संहिता, बिद्यालय पोसाक, सरसफाई, प्रभाबकारी मूल्यांकन, भाषिक तथा गणितीय सीप बिकास,अतिरिक्त क्रियाकलाप, शैक्षिक सामग्रीको ब्यबस्था, सहक्रियाकलाप , शिक्षण सिकाइमा प्रबिधिको प्रयोग, अनुगमन लगायतका पक्षहरुमा सुधार गरी सामुदायिक शिक्षाप्रति आकर्षण बढाउने कार्यक्रमहरु समाबेश गरिएको वडाध्यक्ष बिकास तिमिल्सिनाले जानकारी दिनु भयो ।

सामुदायिक बिद्यालयप्रति अभिभाबकहरुको गुमेको बिश्वास आर्जन गर्न अब सबैको नजर सामुदायिक शिक्षामा लगाई सुधारका कदम चाल्न ढ़िलो भइसकेको बिचार उहाँले ब्यक्त गर्नु भयो । जनप्रतिनिधि, शिक्षक र कर्मचारीका सन्तति सामुदायिक बिद्यालयमा भर्ना गरी शैक्षिक उपलब्धी बृद्धिको सुनिश्चितता नगरे सम्म बिश्वासको बाताबरण पैदा गर्न नसकिने भएको हुँदा यस तर्फ गम्भिर बनि निर्णय गर्नु पर्ने बेला आइसकेको कुरामा सबै सहभागीहरुले जोड दिएका थिए ।

सोहि अबसरमा स्थानीय जनप्रतिनिधिहरुले आगामी शैक्षिक सत्र देखि आफ्ना छोरा छोरीहरुलाई सामुदायिक बिद्यालयमा पठाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । यसै बीच योजना कार्यान्वयनका लागि वडा अध्यक्ष बिकास तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा सहयोग समिति समेत गठन गरिएको छ । समितिका सदस्य हरुमा प्रभाबकारी आधारभूत बिद्यालयका बिब्यस अध्यक्ष सुनिता भारती, जननेत्र माबिका शिअ संघ अध्यक्ष शालिकराम चापागाई, पशुपति आधारभूत बिद्यालयका प्रअ तारापति तिमिल्सिना र जननेत्र माबिका शिक्षक भुमिराज शर्मा रहनु भएको छ ।