१७ साउन
काठमाडौं,नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका बर्दियाका पूर्ण बहादुर राजीको मृत्यु भएको हो ।
ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीमाथि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले आक्रमण गरेका हुन् । महतोले भुइँमा विच्छ्याइएको ब्लकले राजीमाथि प्रहार गरेका जेलर वेदप्रकाश अर्यालले बताए। दुवै जना कोठाबाहिर घाम तापेर एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।
एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । यतिबेला घटनास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।









