८ साउन
सर्लाही। केन्द्र सरकारकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बाढी प्रभावित क्षेत्रमा सरकार आफैले पुनर्निर्माणको काम गर्ने बताउनु भएको छ । आज बिहान सर्लाहीको ईश्वरपुरमा बाढीपीडितलाई राहत वितरण गर्दै मन्त्री थापाले पुनर्निर्माणका लागि क्षतिको विवरण सङ्कलन भैरहेको बताउनुभयो । उहाँले सबै स्थानबाट क्षतिको अन्तिम विवरण आएपछि पुनर्निर्माणको काम अघि बढाउने जानकारी दिनुभयो । मन्त्री थापाले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत उपलब्ध गराउन समाज कल्याण परिषद्अन्तर्गत दर्ता भएका विभिन्न सङ्घसंस्थासँग आह्वान गरिएको बताउनुभयो ।
हरेक वर्ष आउने बाढी, पहिरो तथा डुबानको समस्या समाधान गर्न तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो । कार्यक्रममा मन्त्री थापालाई सर्लाहीका प्रमुख प्रमुख जिल्ला अधिकारी एवं जिल्ला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर राउतले बाढी तथा डुबानबाट जिल्लामा भएको क्षतिको बारेमा जानकारी गराउनु भएको थियो ।
सोही अवसरमा मन्त्री थापाले समाज कल्याण परिषद्को तर्फबाट जिल्ला विपत् व्यवस्थापन समिति सर्लाहीलाई विपत् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा ईश्वरपुर नगरपालिकाभित्र भीषण वर्षाले पूर्णरुपमा घर भत्किएका ४१ परिवारलाई ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिडे«नको सहयोगमा राहत वितरण गरिएको नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिनुभयो ।
सोही संस्थाको सहयोगमा केही दिनअघि नगरका अन्य ५० घर बाढीपीडित परिवारलाई राहत वितरण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख देवकोटाले केही दिनदेखि नगरपालिकाको सागरनाथ वन विकास परियोजनाको जङ्गल छेउछाउका बस्तीमा जङ्गली हात्तीको आतङ्क जारी रहेकाले त्यसको नियन्त्रण र एउटै खोलाको नाम फूलजोर खोला र झिम खोला हुँदा आफूहरुको क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू नभएको सम्वन्धमा ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री थापाकै प्रमुख आतिथ्यतामा आजै मध्यान्ह बागमती सेवा समाज नेपालको सहयोगमा हरिवन नगरपालिकाका सय घरधुरी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको नगर उपप्रमुख रेणुका पौडेलले जानकारी दिनुभयो । जिल्लामा हालसम्म गैरसरकारी संस्थाले फाट्टफुट्ट राहत वितरण गरे पनि स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारको तर्फबाट राहत वितरण हुन सकेको छैन् । बिचल्लीमा परेको सयममा पनि सरकारको तर्फबाट राहत नपाउँदा प्रभावितहरु कष्टकर दैनिकी गुजार्न बाध्य छन् ।









