१ साउन
अर्घाखाँची : अर्घाखाँचीमा मदिरा सेवन गरी ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्। दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले  ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने  सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए। सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।