९ असोज
पर्वत – महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ ।
सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताउनुभयो । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पुर्याउनका निम्ति सामाजिक विकृतिको पनि उन्मुलन आवश्यक रहेको बताउँदै महाशिला गाउँपालिकाले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।
बालाकोटबासीले एक औपचारिक कार्यक्रममा सामूहिक रुपमा सपथ खाँदै आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिवद्धता जनाएका थिए । सांसद गिरीले जाँड रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए ।
महाशिला गाउँपालिकाले मातहतका सवै वडाहरुमा अभियानलाई तीव्रता दिएको छ । गाउँगाउँमा भेला र बैठकबाट सामूहिक प्रतिवद्धता जनाउँदै घोषणा कार्यक्रमलाई अघि बढाइएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो, ‘पहिलो वडाको रुपमा वडा नं. ३ बालाकोटलाई गरिएको छ, भोक्सिङ घोषणा हुने चरणमा छ’, उहाँले भन्नुभयो, ‘अभियानमा सुरुमा निषेधित क्षेत्रका रुपमा नभई नियन्त्रित अभियानका रुपमा अघि बढाउने क्रममा छौँ ।’
यो अभियान पर्वत जिल्लाका सात स्थानीय तह अन्तर्गतकै पहिलो अभियान हो । अभियानले जिल्लाका सवै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले बताउनुभयो ।उज्यालो अनलाईनबाट









