१६ साउन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलवार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो । देशैभर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।
लोकतन्त्रिक पद्धतिको रक्षाका लागि भनेर कांग्रेस देशव्यापीरूपमा सडकमा उत्रिएको हो । पर्वतमा पनि काँग्रेसले कुश्मा बजारमा बृहत प्रदर्शन गरेको छ । सरकारले महंगीलाई नियन्त्रण गर्न नसकेको, जनतामाथि अत्यधिक करको भारी थोपरेको, अदालत र सरकारी संयन्त्रलाई तानाशाही रुपमा चलाउन खोजेको, महिला अस्मितामाथि सरकारमा बस्नेहरु नै धावा बोल्ने गरेको लगायतका आरोप लगाउदै पर्वत काँग्रेसले बृहत प्रदर्शन गरेको हो ।
काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थितिले ०६२\०६३ कै जनआन्दोलनको झल्को दिएको थियो । गाउँगाउँबाट काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पार्टी कार्यालयबाट निस्केको बिरोध -याली कुश्माबजारका विभिन्न ठाउँमा नारासहित पुगेर लोकतन्त्रचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दुई तिहाईको दम्भले सरकारले आफुलार्य श्री ३ जस्तो सम्झेको आरोप लगाउनु भयो । सरकारले श्री ३ सम्झेर जनबिरोधी र अधिनायकबादी दिशामा निरन्तरता दिएमा जनताले राणा र राजालाई जस्तै सडकबाटै लतारेर फ्याक्ने चेतावनी दिनुभयो । यो सरकारले केही गर्ला भन्ने लागेपनि सुरुदेखि नै जनबिरोधी काम गर्दै आएको उहाँले आरोप छ ।
सरकार बनेलगत्तैदेखि महंगी हवात्तै बढेको, जनतालाई कर थोपरेर आतंकित पारेको, कर्मचारीबर्ग र अदालतलाई तर्साउन खोजेको, राज्यका स्वतन्त्र निकायलाई प्रधानमन्त्री मातहत ल्याएको, आफ्ना माग राख्ने जनतालाई निषेध गर्न खोजेको, जनमुखी चिकित्सा शिक्षा अध्यादेशलाई तस्कर र माफियामुखी चिकित्सा शिक्षा बिधेयक ल्याउन लागेको जोशीले आरोप लगाउनु भयो । जोशीले चुनावमा कुश्मा हुदै बेनीसम्म रेल ल्याउने भन्दै हिँडेका नेतालाई रेल कहिले आउछ भनेर सोध्न चाहेको बताउनु भयो ।
चुनावमा हामीले बाटो बनाउँछौ । खनेका बाटोलाई स्तरोन्नती गर्छौ । खानेपानीको समस्या भएकालाई खानेपानीको सुविधा दिन्छौ भन्यौ । तर अर्को पार्टीका नेताहरु रेल ल्याउछौ, भन्नुभयो तर चुनाव जितेपछि पर्वतका माननीयले हामीले रेल ल्याउछौ भनेकै छैनौ भन्नुहुन्छ रे’ उहाँले भन्नुभयो–‘तपाईले बोलेका कुरा जनताले हात हातको मोबाइलमा राखेका छन, रेल कहिले ल्याउनुहुन्छ, म तपाईलाई स्वागत गर्न माला लिएर बसेको छु ।
कार्यक्रममा प्रदेश साँसद ललितकला गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकारले जनहित विपरीत काम गर्दै गएकाले कांग्रेस सडकमा आउन परेको बताउनु भयो । उहाँले जनता र राष्ट्रविरुद्ध सरकारले दायाँबायाँ गरे नछोड्ने धम्की दिनुभयो । कांग्रेस प्रमुख प्रतिपक्ष भएकाले नराम्रा कामको विरोध गर्नु कर्तव्य भएको गुरुङले बताउनु भयो ।
नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले सरकार गलत बाटोमा हिँड्न थालेकाले यसको जानकारी जनतालाई दिन सडकमा उत्रिएको बताउनु भयो । उहाँले केपी ओली नेतृत्व सरकारको मनोमानी रोक्न आन्दोलनमा उत्रनु बाध्य भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य उपसभापति दुर्गावहादुर खत्री र कार्यक्रमको सञ्चालन सचिव विश्वप्रकास प्रसाईले गर्नुभएको थियो ।









