साउन १४ पर्वत । पर्वतको कुश्मा नगरपालिका २ अर्मादीमा बस र माईक्रोबस एकआपसमा ठोकिँदा १७ जना यात्रु घाइते भएका छन् । बागलुङबाट पोखराको लागि छुटेको ग १ ज ६३०२ नम्बरको यात्रुबाहक माईक्रो बस र पोखराबाट बागलुङ जाँदै गरेको ग १ ख ६००४ नम्बरको बस आपसमा ठोकिएका थिए । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा घाईते मध्ये ३ को अवस्था गम्भिर रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटका अनुसार घाइते भएका ८ जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ भने अन्य ८ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

साँघुरो र घुम्ती रहेको स्थानमा दुवै सवारीसाधन तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटले जानकारी दिनुभयो । दुर्घटनामा परेका दुवै सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।









