११ साउन
काठमाडौँ । सरकारले फेरि मन्त्रालय फुटाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । यससँगै संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय भएको छ ।

स्रोतका अनुहार हाल स्वास्थ्य राज्यमन्त्री रेहकी पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन मन्त्रालय फुटाइएको हो । अहिले स्वास्थ्यमन्त्री संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । सामान्यतयाः एउटा पार्टीको फुल मन्त्री भएको मन्त्रालयमा अर्काे पार्टीको राज्यमन्त्री हुने चलन छैन ।

लामो समय स्वास्थ्य राज्यमन्त्री हुँदा राम्रो काम गरेको भन्दै अर्याललाई फुल मन्त्री बनाउनुपर्ने ओली नेतृत्वको सरकारलाई पार्टीभित्रबाट दवाव परेको थियो । अर्याल बाहिरिदा मन्त्रिमण्डलमा महिला मन्त्रीको संख्या पनि कम हुने भएपछि ओली पनि ययसमा सकारात्मक भएका थिए ।

हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।