७ साउन
पर्वत,पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका ४० बर्षिय राममाया रेग्मीलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । पाठेघर क्यान्सरवाट पीडित भएपछि उपचारमा आर्थिक समस्या भएका रेग्मीलाई पर्वत समाज बेल्जियमले ५५ हजार ४ सय ४६ रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजले कुश्मा नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख रामचन्द्र जोशी मार्फत पीडितका श्रीमान् क्षेत्रवहादुर रेग्मीलाई रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले रोजगारीको शिलशिलामा बेल्जियम पुगेका पर्वतलेहरुले पीडितमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको स्मरण गर्दै सेवाभावमा समाजले पुराएको योगदान सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो । उहाँले रोगले थलिएका रेग्मीलाई बचाउन प्रवासी नेपालीहरुले देखाएको चासो प्रति आफु आभारी रहेको बताउनुभयो । आफ्नो खाजाखर्च कटाएर संकलन भएको रकम उपचारमा प्रदान गरेको भन्दै जोशीले पर्वत समाज बेल्जियमलाई धन्यवाद दिनुभयो ।

बेल्जियाम समाजले पर्वतको आर्थिक तथा सामजिक विकासमा सहकार्य समेत गर्दै आएको जोशीले स्मरण गर्नुभएको छ । उक्त रकम पर्वत समाज बेल्जियमका सल्लाहकार भिम जोशी ‘रोशन’ र पर्वत समाज बेल्जियामका सदस्य रक्षा केसीले उपलव्ध गराउनु भएको थियो ।
कार्यक्रममा वोल्दै पर्वत समाज बेल्जियामका सल्लाहकार जोशीले पर्वत जिल्लाको विकासमा भूमिका खेल्न प्रवासी नेपालीहरु तयार रहेको बताउनु भयो । उहाँले बाढि, पहिरो र विपतमा परेका नागरिकलाई सहयोग गदै आएको बताउँदै आर्थिक अभावका कारण उपचार गर्नवाट बञ्चित नागरिकहरुलाई सहयोग गर्ने बताउनुभयो । रकम पाएपछि राममाया रेग्मीका पीडित क्षेत्रवहादुर रेग्मीले सहयोग उपलव्ध गराएकोमा पर्वत समाज बेल्जियामलाई धन्यवाद दिनुभयो । उहाँले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीले विदेशमा रहेका नेपालीहरु संधै देशमा के भईरहेको छ , देशको विकासका के गर्न सकिन्छ, कस्लाई समस्या परेको छ भन्ने कुरामा चिन्तित हुने गरेको भन्नुभएको छ । त्यहि चिन्ताले रोगबाट थलिएकी रेग्मीलाई सानो भएपनि आर्थिक सहयोग गरेको केसीले टेलिफोनमा जानकारी दिनुभयो ।