३२ साउन नेपालगन्ज : नालाको बाढीमा डुबेर एकै परिवारका तीन जना वेपत्ता भएका छन् । बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुरका कुदेरवेटवाका छोटेलाल यादवको श्रीमती अन्दाजी ३० वर्षीया रामदुरी यादव, ३ वर्षकी छोरी अञ्जली यादव र ८ वर्षकी छोरी सुनिता यादव गाउँको सिंगैया नालाको बाढीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मंगलबार साँझ जमुनी भन्ने ठाउँबाट घर फर्किने क्रममा उक्त नाला पार गर्न खोज्दा उनीहरु बगेका हुन् । प्रहरीले नालामा बगेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङले अँध्यारोमा गहिरो र ठूलो नाला पार गर्न खोज्दा सबै परिवार बगेको जानकारी दिए ।
छोटेलाल आफू नालाबाट उत्रिएपनि परिवारलाई भने बचाउन सकेनन् । सम्भावित सबै ठाउँमा प्रहरी परिचालन गरेर खोजी कार्य भइरहेको तामाङले जानकारी दिए ।








