३० असार
सचिन्द्र श्रेष्ठ,दुबई । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रबार नेपाली समुदाय यूएईले दुबईमा मनायो। वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नु भएको थियो ।हाम्रो भाषिक पहिचान निर्माण गर्नमा उनको ठूलो देन छ । ग्रीक साहित्यमा होमर, अंग्रेजी साहित्यमा सेक्सपियर, रसियन साहित्यमा अलेक्जेण्डर पुस्किन, फ्रेन्च साहित्यमा बाल्जाक, हिन्दी तथा उर्दु साहित्यमा मुन्सी प्रेमचन्दहरुको जस्तो स्थान छ नेपाली साहित्यमा भानुभक्त आचार्यको त्यही स्थान छ।
उहाँले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु भएको थियो । रामायणका श्लोकहरु आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीतासँगै विभिन्न फुटकर कविता, कृति प्रकाशित छन् ।भानुको सम्झनामा नेपाली समुदाय यूएईले कबिता, गजल,मुक्तक,गीत प्रस्तुत गर्ने कार्यक्रम गर्यो।नेपालको राष्ट्रीय गान बाट सुरू गरिएको कार्यक्रममा भानुभक्त को फोटोमा माल्यार्पण गरी उनको ब्यक्तित्व,नेपाली भाषा ,साहित्य,दर्शनका बारेमा बिदुर राउतले आफ्नो भनाई राख्दै सूजन कोया राई, घनश्याम नेपाल,नवराज कार्की,कृष्ण पारस दुलाल,रमेश थापा,लक्ष्मण पौडेल लगायतका साहित्यानुरागीहरुले आफ्नो रचना बाचन गर्नु भएको थियो।
समुदायका सल्लाहकार राजू गुरुबाचार्य, बिष्णु न्यौपाने, घनश्याम नेपालको आतिथ्यमा समपन्न कार्यक्रमको सभापति नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउत तथा संचालन रमेश थापाले गर्नु भएको थियो ।









