२० असार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । उनले भने,‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा होईन, गफ बढि दिने तर काम कम देखियो।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारका गतिविधिहरु कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाए । लेखकले भने,‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन, पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो, नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन, निषेधित क्षेत्र तोकिएका छन्, यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकको समग्र अवस्था ठिक छैन, मुलुक संविधान र कानूनसम्मत् ढंगले चलिरहेको छैन, एकांकी र लहडको भरमा चलेको छ, हुन त अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन, तर सरकारले अहिले मुलुकलाई सही ढंगले चलाएको पाईएन्।’
जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रतिपनि सरकार अनुदार बनेको उनको आरोप छ । उनले भने,‘उहाँको स्वास्थ्य अवस्था बिग्रंदो छ, उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्किहरुलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ, यदि यो साँचो हो भने गलत छ, अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ, त्यो धेरै गलत छ।’ केसीका माँगहरु जायज रहेको उल्लेख गर्दै माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनैपनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने लेखकको जिकिर छ।
उनले भने,‘सरकारले अहिले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकले अध्यादेशको मूल मर्म नै समाप्त पारेको छ, यो विद्येयक त केही सिमिति मानिसहरुलाई मात्रै लाभ पुर्याउनेगरि आएको छ।’ अध्यादेशको भावना विपरित आउन लागेको विद्येयकप्रति आफूहरुको गम्भिर आपत्ति रहेको पनि उनले जनाए । त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीप्रति सरकारले गरेको व्यवहारपनि राम्रो नरहेको गुनासो पोखे । उनले भने,‘गंगामायाको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्छ।’
कांग्रेस अब संगठित, व्यवस्थित् र प्रभावकारी ढंगले चल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘हाम्रो पार्टीको जिल्ला सभापतिहरुको भेला हेटौंडामा भर्खरै सम्पन्न भएको थियो, हामीले प्रभावकारी ढंगले अघि बढ्ने निर्णय गरेका छौं, संविधानको संरक्षण गर्दै हामी सशक्त भूमिका निर्वाह गर्छौं।’
फरक प्रसँगमा उनले बाढी पहिरो लगायतका प्राकृति प्रकोपका बारेमा सरकारलाई मात्रै दोष दिने कुरा सुहाउने नहुने बताउँदै उनले यस्ता खाले विपतको सामाना गर्न सरकार तथा प्रतिपक्षी लगायत सबै एकजुट हुनुपर्ने बताए । उनले भने,‘विपतको समयमा प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि पार्टी संगठनलाई प्रभावकारी रुपमा परिचालन गर्छौं।’
सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य माँगहरु राम्रा भएपनि दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माँग आफूले नबुझेको स्पष्ट पारेका छन् ।
उनले भने,‘हो, उहाँ चिकित्सा शिक्षामा देखिएको बेथिति हटाउन राम्रो मनशायले अनशन बस्दै आउनुभएको छ, तर तर वर्षसम्मपनि काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा मैले बुझेको छैन्।’ सरकारले तय गरेको स्तर वा मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिनुपर्ने उनको जोड छ । उनले भने,‘सरकारले तोकेको स्ट्याण्र्ड मेन्टेन गर्ने कलेजहरुलाई सम्बन्धन दिन रोक्नुहुँदैन्, तीनलाई सम्बन्धन दिनुपर्छ।’
अहिले नेपालमा डाक्टर पढ्न नपाएर हजारौंको संख्यामा भारत, चीन, बंगलादेश र चीन लगायतका देशमा नेपाली विद्यार्थीहरु पढ्न जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले नेपालमै पढ्ने वातावरण बनाउनुपर्ने बताए । आचार्यले भने,‘अहिले नेपालबाट डाक्टर पढ्नको लागि अर्बौं रुपैयाँ विदेश बाहिरिएको छ, यो राक्नको लागि पनि नेपालमा स्तरीय मेडिकल कलेजहरु सञ्चालनमा आउनुपर्छ।’ नेपालमै स्तरीय कलेजहरु खोल्न सके विदेशबाट पढ्न यहाँ आउने ठूलो संभावना रहेको उनको भनाई थियो । उनले भने,‘अहिले अष्ट्रेलियामा विभिन्न देशबाट पढ्न आउने विद्यार्थीहरुको संख्या धेरै ठूलो छ, यसको कारण चार प्रतिशत मुलुकलाई आम्दानी भैरहेको रहेछ, त्यसैले डाक्टर केसीले उठाएका अरु विषयहरु ठीक छन्, तर दशवर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न हुँदैन भन्ने कुरामा म सहमत छैन्।’ उनले चिकित्सा शिक्षा सुधारसम्बन्धी आएको माथेमा आयोगको प्रतिवेदन समेत ए टु जेड ठिक नहरेको जिकिर गरे । ‘काठमाडौंमा अनशन बस्न छोडेर उहाँ किन जुम्ला जानुपर्यो’ उनले प्रश्न गरे,‘यो कुरा पनि मैले बुझन सकेको छैन्।’
सरकारको कारणले गर्दा डाक्टर केसीको उपचारमा कुनै बाधा तथा अवरोध नभएकोपनि आचार्यको स्पष्टोक्ति थियो । उनले भने,‘उहाँकै स्वार्थका कारण उपचार नभएको हो, उहाँले देशभरि नै घोषणा गरिएको निषेधित क्षेत्रहरु फिर्ता लिन भनिरहनुभएको छ, तर म यही मञ्चबाट भन्छु, सरकारले फिर्ता लिनको लागि निषेधित क्षेत्र घोषणा गरेको होईन्, त्यसैले कुनै हालतमापनि फिर्ता हुँदैन्।’ आचार्यले ५० जनाको जुलुसले गर्दा ५ लाखलाई प्रत्यक्ष असर पर्ने हुँदा सरकारले निषेधित क्षेत्र तोकेको बताउँदै यसलाई सरकारको सही निर्णय भएको पनि दाबी गरे ।
त्यस्तै उनले अनशनरत गंगामाया अधिकारीकोपनि समस्या हल गर्नुपर्नेमा जोड दिए । यद्धपी उनले द्धन्द्धकालिन मुद्दा भएकोले सरकारले यसअघि नै गठन गरेका बेपक्ता व्यक्ति छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निकास खोजिनुपर्ने स्पष्ट पारे । उनले भने,‘द्धन्द्धकालमा निर्दोष मानिसहरु मरेका छन्, अन्यायमा परेकाहरुलाई न्याय दिनुपर्छ, तर २ वटा आयोगले ठिक ढंगले काम गर्न सकेनन्।’
फरक प्रसँगमा उनले वर्तमान सरकारले भर्खरै आफ्नो मधुमाश पूरा गरेको उल्लेख गर्दै अब छिट्टै सरकारले गति लिने विश्वास दिलाए । उनले भने,‘सरकारले भर्खरै मधुमास पूरा गरेको छ, यो बीचमा दुवै छिमेकी देशको भ्रमण गरेको छ, केही राम्रा सम्झौताहरुपनि भएका छन्, अहिले जनताका अपेक्षाहरु अपार छन्, सरकार पूर्ण बहुमतमा भएकोले अब बहानावाजी गरेर उम्किने ठाउँ छैन।’
कांग्रेसले सरकारमाथि लगाएका आरोपहरु आगामी ५ वर्ष सरकार बाहिर बस्नुपर्ने छट्पट्ीका कारणमात्रै आएको उनको भनाई छ । उनले भने,‘कांग्रेसको पूरानो रोक आफूबाहेक अरुलाई सरकारमा गएको देख्न चाहँदैन्, अहिले कांग्रेसले सरकारमाथि लगाएका आरोपहरुमा कुनै तुक छैन्।’ ५ वर्ष सरकार बाहिर बस्नुपर्ने भयो भन्ने पीडका कारण कांग्रेसले सरकारको आलोचना गरेपनि बजारमा हल्ला भएजस्तो अब कांग्रेस आक्रमक बन्दैछ र कडा आन्दोलन गर्दैछ भन्ने कुरा सुनिएपनि यदि भनेजस्तो नै गर्ने हो भने यो गलत हुने उनको तर्क छ । उनले भने,‘यसले कांग्रृेसलाई घाटा हुन्छ, कांग्रेस बरु रचनात्मक प्रतिपक्षी बनेर आओस्।’