१७ असार
काठमाडौं। आइतबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले कम्युनिष्ट परिभाषा अनुसारको दलाल पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन् ।
आइतबारको बैठकमा सरकारले ल्याउन लागेको मेडिकल शिक्षा विधेयकमा आपत्ति प्रकट गर्दै सरकारले मेडिकल शिक्षाको हितभन्दा पनि राजनीतिक स्वार्थ भएका मानिसहरुलाई मेडिकल खोल्ने अनुमति दिने किसिमको विधयेक ल्याएको बताए ।
उनले मेडिकल नभएका स्थानमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा लिन पाउन् र गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनेर माग राख्ने गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएको भन्दै सरकारको नियतमा खोट रहेको औंल्याए ।
थापाले पार्टीगत स्वार्थमा एकीकरणको अवसरमा नेताहरुलाई घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने मानिसले मेडिकल खोल्न पाउने नियमका लागि संसदमा यो विधेयेक ल्याइएको बताए । व्यङ्ग गर्दै उनले थपे, ‘प्रधानमन्त्रीको दलाल पुँजीपति समाजवादमा स्वागत छ।’
सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गर्ने तयारी गरेको छ । नयाँ विधेयकमा मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने, काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाइने, आफ्नै अस्पताल नभए पनि कलेज खोल्न आशयपत्र दिन सकिने, सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाइने लगायतका व्यवस्था गरिएको छ ।
डा केसीसँग विगतमा भएका सहमति, माथेमा आयोगको सुझाव र अध्यादेशको व्यवस्था विपरितका व्यवस्था विधेयकमा गरिएको भन्दै डा केसी समर्थित चिकित्सकहरुले पनि आपत्ति जनाएका छन् ।









