१६ असार
काठमाडौँ । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलका खेल आजदेखि सुरु हुदैछ । आज फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुदै छन् । आजको पहिलो खेल साझा ७- ४५ मा हुदै छ भने दुस्रो खेल उरुग्वे विरुद्ध पोर्चुगल राती ११ः४५ बजे हुने छ । फ्रान्स आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा अर्जेन्टिना भने अन्तिम खेलमा संघर्षपूर्ण खेलमा नाइजेरियलाई २–१ ले हराउँदै अघि बढेको थियो । पहिलो खेलमा आइसल्यान्डसँग १–१ रोकिएर विश्व कपको यात्रा सुरु गरेको अर्जेन्टिना अर्को खेलमा क्रोएसियासँग स्तब्ध भएको थियो ।
समूहको अन्तिम जित्दै पर्ने खेलमा सुखद नतिजाका साथ अर्जेन्टिना अघिल्लो चरणको यात्रा गर्न सफल भएको थियो । उरुग्वे भने आफ्नो समूहको विजेताका रुपमा अघि बढ्दा स्पेनसम्मिलित समूहबाट पोर्चुगल उपविजेताका रुपमा अघि बढेको थियो । सुरुवाती दुई खेलमा चार गोल गरेका रोनाल्डो इरानसँग पेनाल्टीमा गोल गर्नबाट चुक्दा आलोचनाको शिकार हुनुपरेको थियो ।
प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।
पहिलो चरणमा ४७ खेलमा गोल हुँदा फ्रान्स र डेनमार्क बीचको खेल मात्र गोलरहित बराबरीमा सकिएको थियो। गोलका हिसाबले पहिलो चरणमा एक खेलमा २ भन्दा बढी गोल भएको छ। यस्तै अहिलेसम्म ८६ जना खेलाडीले गोल गरिसकेका छन्। विश्वकपमा सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए।
अन्तिम १६ मा पुग्ने टोली – उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान
बाहिरिएका टिम

साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, सेनेगल र पोल्यान्ड