१५ असार
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिकामा जीप दुर्घटना हुदा, वडा अध्यक्ष सहित दुईको मृत्यु भएको छ । से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिबेणी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
बुधवार बेलुका साढे ७ बजेपछि जीप दुर्घटनामा परेको हो । बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ।
जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मृत्यु भएका नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको छ। घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगेको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।









