४ असार
काठमाडौं– राष्ट्रियसभाका ५९ जना सदस्यकै पदावधि टुंगो लागेको छ। सोमबार संघीय संसद भवन बानेश्वरमा भएको गोलाप्रथाबाट सदस्यहरुले आफ्नो पदावधि निर्धारण गरेका हुन्।

संविधानमै एक तिहाइ सदस्यको कार्यकाल २, अर्को एक तिहाइको ४ र बाँकी एक तिहाइको ६ वर्ष कार्यकाल हुने व्यवस्था छ।

राष्ट्रियसभाको नियमावली अनुसार आज भएको गोलाप्रथापछि १९ जनाको पदावधि २ वर्ष, २० जनाको पदावधि ४ वर्ष र बाँकी २० जनाको पदावधि ६ वर्ष कायम भएको छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गरेका बाहेकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का ३९ जना सदस्य छन्। जसमध्ये ८ जनाको कार्यकाल २ वर्ष, १७ जनाको ४ वर्ष र १४ जनाको ६ वर्ष पदावधि कायम भएको छ। त्यस्तै, १३ सदस्य रहेका कांग्रेसका ७ जनाको पदावधि २ वर्ष कायम भएको छ। २ जनाको ४ वर्ष र ४ जनाको ६ वर्ष पदावधि कायम भएको छ।

संघीय समाजवादी फोरमको तर्फबाट २ जना राष्ट्रियसभा सदस्य छन्। जसमध्ये १ जनाको दुई वर्ष र अर्को १ जनाको ६ वर्ष पदावधि कायम भएको छ।

त्यस्तै राष्ट्रिय जनता पार्टी राजपाबाट प्रतिनिधित्व गर्ने २ जनामध्ये दुवै जनाको पदावधि २ वर्ष कायम भएको छ।

राष्ट्रपतिले मनोनित गरेका ३ जनामध्ये अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाको पदावधि २ वर्ष कायम भएको छ। त्यस्तै रामनारायण बिडारीको कार्यकाल ४ वर्ष र विमला पौड्यालको कार्यकाल ६ वर्ष कायम भएको छ।

राष्ट्रियसभाको ५६ पदका लागि गत माघ २४ मा निर्वाचन भएको थियो। बाँकी ३ जनालाई राष्ट्रपतिले गत फागुन ८ मा मनोनीत गरेकी थिइन्। राष्ट्रियसभा एउटा स्थायी सदन भएकाले सो सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु २/२ वर्षको अन्तरमा आउने र जाने भइरहने व्यवस्था छ। –