३ असार
अछाम : पञ्चदेवल विनायक नगरपालिका–२ न्यौपाने टोेलका ५९ वर्षीय प्रजापति न्यौपानेलाई ठूलो पानी परेको रात निन्द्रा लाग्दैन। ठूलो पानी परेको बेला परिवारका सबै सदस्य रात भर ननिदाइ बस्ने गरेको उनले सुनाए। उनले भने, ‘जब पानी रोकिन्छ, अनि मात्र सुत्ने गरेका छौं।’ २०४५ भदौमा लगातार चार दिनसम्म परेको वर्षाले पञ्चदेवल विनायक नगरपालिका–२ को न्यौपाने टोल, धाउखाने टोल र आउजिबाडा टोलमा जमिन फाटेर पहिरो जान सुरु भएको थियो।
उक्त वर्ष पहिरोका कारण दुई घर भत्किए। उब्जनी हुने जमिन समेत बग्यो। त्यसपछि हरेक वर्षा याममा पहिरोको संकेत देखिँदै आएको छ। करिब २५ घरधुरी दलित र ३५ घरधुरी न्यौपाने परिवारको वस्ती रहेको उक्त टोल पहिरोको उच्च जोखिममा रहेको छ। भिरालो जमिनमा रहेको उक्त गाउँका नागरिकहरू बर्सेनि पहिरोको त्रासमा बाँचिरहेका छन्। वस्तीको दायाँ र बायाँतिर दुई खोला छन्। खोलाको बीचमा रहेको यस वस्तीका नागरीकहरू वर्षायाम सुरु भएसँगै पहिरो जान्छ कि भन्ने चिन्तामा हुन्छन्। त्यस गाउँका नागरिककमध्ये केहीले यस वर्षायाममा लेकमा बनाइएका गोठमा बस्ने योजना बनाएका छन्।
तर, लेकका गोठ बस्नका लागि उपयुक्त भने छैनन्। लेकबाट बालबालिकाहरू विद्यालयसम्म पुग्न नसक्ने भएकाले उनीहरूको पढाइ प्रभावित हुने उनीहरुको भनाए छ। गाउँ नै पहिरोको जोखिममा रहेको भन्दै ०६५ देखि जिल्ला विकास समितिको योजना किताबमा उक्त गाउँको तटबन्धनको योजना पर्दै आएको छ। तर, रकम विनियोजन नभएको स्थानीय अगुवा नरेन्द्र न्यौपानेको गुनासो छ। ०६५ सालमा आएको बाढीका कारण पहिरोका कारण वस्ती उच्च जोखिममा रहेको भन्दै तत्कालीन विनायक गाविसमा बसेको सर्वदलीय बैठकले वस्तीलाई स्थानान्त्रण गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन। पहिरो रोकथामका लागि आर्थिक वर्ष २०६६/६७ मा तत्कालीन विनायक गाविसबाट दुई लाख रुपैयाँ विनियोजन भएको थियो। आर्थिक बर्ष २०६८/६९ मा गैरसरकारी संस्था केयर नेपालको आर्थिक सहयोगमा तटबन्धन समेत गरिएको छ।
चालु आर्थिक वर्षमा पञ्चदेवल विनायक नगरपालिका–२ वडा कार्यालयबाट दुई लाख रुपैयाँ विनियोज गरी तटबन्धन गरिए पनि पहिरोको जोखिम भने कायमै छ। गत सालको स्थानीय तह निर्वाचनका बेला उम्मेदवारको प्रमुख चुनाबी एजेण्डा उक्त वस्ती स्थानान्तत्रण रहेको थियो। निर्वाचन सम्पन्न भएको एक वर्ष बिते पनि वस्ती स्थानान्तरणमा स्थानीय तहले चासो नदिएको भन्दै स्थानीय नागरिक आक्रोसित छन्। पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटाले पहिरो रोकथामका लागि तटबन्धन निर्माण गरिने र त्यसका लागि स्टिमेट बनाइरहेको बताएका छन्।









