१४ साउन

इरानले अमेरिका र इसराइलसँगको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउन चीनबाट हतियार किन्ने भएको छ।

इरानले चीनसँग ३०० देखि ४०० वटा हवाइ प्रतिरक्षा मिसाइल किन्ने सम्झौता गरेको भनेर समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गरेर लेखेको छ।

यो सम्झौता हङकङस्थित झोङकिङ बाओशाङ इन्टरनेसनल इन्भेस्टमेन्टसँग भएको थियो।  कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ता बीच मध्यस्थकर्ताको रूपमा काम गरेको हो।

इरानले किन्न लागेको मिसाइल डिफेन्स सिस्टम काँधमै बोकेर प्रहार गर्न मिल्ने खालका हतियार हुन्। यसलाई म्यानप्याड्स भनिएको छ।

यसमा क्युडब्ल्यु-१२ र एफएन-१६ मिसाइल प्रणाली समावेश छ।  यो मिसाइलको पहिलो खेप केही साताभित्रै इरान पुग्ने रोयटर्सले जनाएको छ।

ती हतियारको मूल्य ६ देखि ७ करोड अमेरिकी डलर बराबर हुने बताइएको छ।  युद्ध सुरु भएयता छोटो दूरीको हवाई सुरक्षा प्रणाली बलियो बनाउन इरानले गरेको यो सबैभन्दा ठूलो प्रयास भनिएको छ।

इरानको विदेश मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। सामान्यतया यस्ता हतियार खरिद-बिक्री सम्झौता गोप्य राखिन्छ। चिनियाँ विदेश मन्त्रालयले पनि इरानलाई हतियार बिक्री गरेको भन्ने सूचना निराधार रहेको भनेको छ।

पछिल्ला केही महिनायता अमेरिका र इसराइलले इरानका मिसाइल, ड्रोन र हवाई सुरक्षा कार्यक्रमसँग सम्बन्धित धेरै सैन्य संरचनामा आक्रमण गरेका छन्। त्यसको जवाफमा इरानले पनि ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरेको थियो।

यस युद्धले आधुनिक लडाकु विमान र अत्याधुनिक हतियारबाट स्थायी सैन्य अड्डा तथा रणनीतिक संरचनालाई जोगाउन इरानलाई कठिन भइरहेको देखाएको विश्लेषण गरिएको छ।

यद्यपि गत शनिबार अमेरिकाले दुई सातादेखि जारी बमबारी रोक्दै अस्थायी रूपमा सैन्य कारबाही स्थगित गरेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भए युद्ध फेरि सुरु हुने चेतावनी दिएका छन्।