
२१ असार
काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लगातार चार संस्करणमा क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा फ्रान्सले पाराग्वेलाई १–० ले हरायो । फ्रान्सका लागि केलियन एम्बाप्पेले निर्णायक गोल गरे । खेलको ७० औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यो उनको विश्वकपमा कीर्तिमानी गोल हो । उनले यसपालि ७ गोल गरिसकेका छन् । सन् २०२२ को विश्वकपमा ८ गोल गरेका थिए । विश्वकपमा एम्बाप्पेको गोल संख्या १९ पुगिसकेको छ । उनी अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीभन्दा केवल एक गोलले मात्र पछाडि रहेका छन् ।
खेलमा ७६ प्रतिशत बल फ्रान्सको नियन्त्रणमा रहे पनि गोल गर्न भने निकै नै सकस भएको थियो । गोलका लागि पाँच ओटा प्रहार गरेको भए पनि पाराग्वेका गोलकिपरले सबै विफल बनाइदिएका थिए । पाराग्वेले भने एउटा बलमात्र गोलका लागि प्रहार गरेको थियो । फ्रान्सका तीन खेलाडीले पहेँलो कार्ड पाए ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएर प्रिक्वार्टरफाइनलमा पुगेको भए पनि फ्रान्सविरुद्ध उल्लेख्य खेल्न सकेन ।
फ्रान्सले भने एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो । सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्नेछ ।








