२० जेठ
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । नयाँदिल्लीमा बुधबार रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले नेपाल प्राथमिकतामा रहेको साझेदार मुलुक भएको बताएका हुन् ।
भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’
साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई स्वागत गर्दै पूर्ण रूपमा सहमत भएको उल्लेख गरेका छन् ।
भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारी थिए ।
मोदीसँगको भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए ।









