१० चैत

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।

जिल्ला सदरमुकाम कुश्मा बजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग १ ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै थिए।

चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। वर्षाका कारण उकालो बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।