१० चैत
नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ। महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिकाबारे छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकका लागि कांग्रेसले पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बोलाएको छ। केन्द्रीय समिति बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश सभापतिहरू सहभागी हुने गरेका छन्।
यसअघि गत आइतबार केन्द्रीय समिति बैठक सकिएको थियो। उक्त केन्द्रीय समितिले सभापतिबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो भने चुनावी पराजयको प्रारम्भीक समीक्षा गरेको थियो।
प्रवक्ता चालिसेका अनुसार चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेका छन्। उनले पार्टीका सबै पक्षहरूसँग संवाद अघि बढिसकेको पनि बताए। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नै पार्टीका सबै पक्षका नेताहरूसँग संवादको प्रयास गरिरहेका छन्।
कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। यो विशेष महाधिवेशनमा शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा उक्त मुद्दा विचाराधीन छ। कांग्रेसले २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गरेको थियो।
विधानअनुसार ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हो। गएको मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने भए पनि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले जेठसम्म कार्यकाल थप गरेका थिए भने तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहभागीतामा विशेष महाधिवेशन भएको थियो।









