१ चैत्र

गोरखा- मनकामना मन्दिरको दर्शन गरेर फर्किएको एक विद्युतीय (ईभी) माइक्रो बस गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

उद्धारकर्ता स्थानीयले घटनास्थलबाट ७ जनाको शव निकालिएको बताएका छन्।

बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रो सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। प्रहरीका अनुसार उक्त माइक्रोमा भारतीय पर्यटकहरू सवार रहेका थिए।

चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेले दिएको जानकारीअनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए ।

तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।