२३ माघ
पर्वत। नेपाली कांग्रेसका तर्फबाट पर्वतमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहनुभएका अर्जुनप्रसाद जोशीले चुनावी मैदानमा मतदाताहरूसँग अन्तिपटकका लागि भनेर भोट माग्नुभएको छ । पर्वतेली जनताका नाममा सोमबार अपिल गर्दै उम्मेदवार जोशीले यसपछिका कुनैपनि निर्वाचनमा आफ्ना लागि भोट नमाग्ने भन्दै यसपटक र अन्तिम पटक आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । चुनाव जित्दा वा हार्दा पनि सँधै पर्वतेली जनताको बीचमा आफूलाई समर्पित गर्दै आएका जोशीले आफूले विगतमा गर्न छुटाएका र नभ्याएका विकासका आयोजनाहरूलाई अन्तिम निष्कर्षमा पुर्याउन आफू चुनावी मैदानमा आएको वताउनुभएको छ । उहाँले आफू युगले लक्ष्य गरेको परिवर्तनको पदचापलाई समाएर अघि बढ्ने संकल्प गरेको वताउँदै आफ्नो संकल्प पर्वतेली जनताको भोटसँग नभएर भावनासँग सम्बन्धित रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो सक्रिय राजनीतिक जीवनको ३५ बर्ष यही पर्वतको माटोमा विताएर आएको उल्लेख गर्दै चुनाव जित्दा वा हार्दा पनि मेरो बर्कत र क्षमताले भ्याएसम्म पर्वतबासी जनताको दुखसुखमा सँगै रहने आफ्नो पूर्ववत् अठोट र संकल्पका प्रति सँधै सचेत रहेको वताउनुभएको छ । अपिलमा अघि भन्नुभएको छ- ‘पार्टी जीवनसँगसँगै तपाईंको जनप्रतिनिधिका रुपमा मैले के गरेँ/के गर्न सकेँ त्यो मैले भनिरहनुपर्दैन । फेरि आजको पुस्ताले इतिहास सुनाउने भन्दा भविष्य देखाउने नेता खोजिरहेको छ त्यो कुरा मैले प्रष्ट बुझेको छु । पर्वतको भूगोलमा उत्तरको बाँसखर्कदेखि दक्षीणको टकलाकसम्मका सम्पूर्ण जनताको भावनासँग म सँधै परिचित छु ।
भाद्र २३ र २४ गते जेन–जी पुस्ताले जुन विद्रोह ग¥यो त्यो विद्रोहको सम्पूर्ण सत्य भनेको मुलुकमा देखिएको राजनीतिक अतिवाद, यथास्थिति, वेथिति र भ्रष्टाचारका विरुद्ध प्रकट भएको अभिव्यक्ति हो भन्ने मैले ठानेको छु । जेन–जी आन्दोलनमार्फत व्यक्त भएको त्यो आक्रोश र चेतलाई गम्भीर समीक्षा गर्दै नेपाली काँग्रेस अहिले विशेष महाधिवेशनमार्फत सभापति गगनकुमार थापाको नयाँ नेतृत्व र नीतिसहित सम्पूर्ण रुपमा रुपान्तरण भएर तपाईंहरुको वीचमा आएको छ । आफूलाई बदल्ने, आफूसँगै काँग्रेसलाई बदल्ने र काँग्रेससँगै देशलाई बदल्ने संकल्प र अठोट बोकेर जनताको बीचमा आएको काँग्रेससँग अबको एउटै मुद्दा छ– सुशासन, समुन्नति ।
अपिलको अघि भनिएको छ ‘यो मेरो अन्तिम चुनावी प्रतिस्पर्धा हो । यसपछिका कुनैपनि चुनावमा प्रत्यक्ष उम्मेदवार भएर म तपाईंसँग मेरालागि भोट मागिरहेको हुनेछैन । यसपालि पनि म उम्मेदवार नभएर अर्को कोही साथी आएको भएपनि हुन्थ्यो भन्ने कतिपयलाई लाग्नसक्छ । त्यो स्वभाविक पनि हो, तर पर्वतको सक्रिय राजनीतिको क्रममा मैले गर्न छुटाएका र नभ्याएका विकास र पूर्वाधारका कामहरुलाई सम्पन्न गर्न र जेन–जी विद्रोहले अपेक्षा गरेको चुस्त र पारदर्शी सार्वजनिक सेवाप्रवाह, सुशासन र समुन्नतिका केही मुद्दाहरुलाई मेरो अनुभव र क्षमतामार्फत सार्थक निष्कर्षमा पु¥याएर विदा हुने तिव्र ईच्छाले म यसपटक चुनावी मैदानमा आएको हुँ । अर्कोकुरा परिवर्तन र रुपान्तरण पार्टी मात्रै होइन, म व्यक्ति स्वयंपनि कति रुपान्तरण हुन सकें त्यसको अन्तिम परीक्षा पनि मेरा प्रिय पर्वतबासीकै वीचमा दिन चाहन्छु । म कसै लक्षित अनर्गल टिप्पणी गर्न चाहन्न । बरु युगले लक्ष्य गरेको परिवर्तनको पदचापलाई समाएर अघि बढ्ने संकल्प गर्दछु ।
मेरो संकल्प तपाईंको भोटसँग मात्रै होइन, भावनासँग सम्बन्धित छ । त्यसैले म चुनाव जित्दा वा हार्दा पनि निरन्तर तपाईंसँगै छु/रहनेछु । त्यसैले पनि यसपटक र अन्तिमपटक मेरो उम्मेदवारीलाई अनुमोदन गरेर देश निर्माणको अभिभारा सुम्पनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । यो निर्वाचनको दौडानमा म सशरीर तपाईंको घरदैलोमा उपस्थित भएर तपाईंसँग सुखदुख साट्ने उत्कट इच्छा हुँदाहुँदै पनि समय नपुग्न सक्छ । समयको सीमा र बाध्यातालाई यहाँहरुले अवस्यनै बुझ्नुहुनेछ भन्ने अपेक्षा गरेको छु । काँग्रेसको कोही प्रतिनिधि पनि तपाईलाई भेट्न तपाईंको घरसम्म आइपुग्यो भने सम्झनु त्यो म स्वयं नै हो । मेराप्रति वा पार्टीका प्रति यहाँको सुझाव,सल्लाह अपेक्षा वा गुनासो केही भए तपाईंको घरदैलोमा आउने काँग्रेस प्रतिनिधिसँग खुलेर राख्नुहोला त्यो सुझाव, सल्लाह, अपेक्षा वा गुनासोलाई मैले सँधै शिरोधार्य गर्नेछु । पर्वतको विकास, समुन्नति र सुशासनलाई अन्तिम निष्कर्षमा पु-याउने यो अभियानलाई मूर्त रुप दिनको लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । जोशीले आफ्नो अपिलमा भन्नुभएको छ ।








