२४ पुस

पर्वत । पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पर्वतमा बिहीबार भएको युवाहरूको भेलामा कांग्रेसको वर्तमान अवस्थाबारे गम्भीर छलफल गर्दै पार्टीलाई विधि र विधानअनुसार चलाउन विशेष अधिवेशन अनिवार्य भएको निष्कर्ष निकालिएको छ ।

पार्टीलाई विधि, विधान र वैचारिक बाटोमा फर्काउन विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षसहित पर्वतका  २७ जना महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनको पक्षमा स्पष्ट रूपमा उभिन आग्रह गरिएको नेपाली कांग्रेस जलजला ८ नाग्लिवाड्का सभापती एवं भेलाका संयोजक श्री कृष्ण रेग्मीले जानकारी दिए ।

उनले आफूहरूको बैठकले ‘अब ढिलाइ होइन, समाधान विशेष महाधिवेशन नै हो’ भन्ने निष्कर्ष निकालिएको जानकारी दिँदै भने, ‘विधान विपरीत गए कारबाही हुन्छ । पार्टीलाई विधानअनुसार नै चलाउने हो ।’ उक्त भेलामा ४० वर्ष मुनिका युवाहरू सहभागी थिए ।