२० पुस
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूची सम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।
आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।
रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए ।
कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनका अनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् ।
अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउने छन् ।
त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘१६ गतेदखि २० गतेसम्म दलहरुको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचिमा रहेको डकुमेन्टहरु रुजु गयौँ । रुजु गर्दा देखिएका कैफियतहरु हामी सबै कोट गरेर सम्बन्धित दलहरुलाई आज साँझसम्म पत्र पठाउँछौँ । त्यसमा डकुमेन्ट नपुगेका, उमेर नपुगेका लगायत सबै छुट्याएर हामी पठाउँछौ ।
त्यसको आधारमा भोली २१ गतेदेखि २७ गतेसम्म दलहरुले ती कुरा सच्याएर ल्याउनुहुन्छ । र हामीले दलको तर्फवाट आएको बन्दसूचिलाई २७ गते फाईनल गर्छौ । त्यसपछि सम्बन्धित उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन पाउनुहुन्छ । समानुपातिकमा बस्न चाहन्न भन्नेले २८ गते उम्मेवारी फिर्ता दिन पाउनछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौँ । र दलको विवरण आईसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूचि तयार पारेपछि हामीले त्यसलाई सार्वजानिक गर्छौं ।
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेश गरेका थिए । कतिपयलाई आरोप लागेसँगै नाम फिर्ता लिएका छन् ।







