Oil production platforms on Venezuela's Lake Maracaibo. Venezuela sits on some of the largest oil reserves in the world.

२० पुस

अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको केही घन्टामै राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पारे — अमेरिकी अपरेसनको एउटा मुख्य उद्देश्य भेनेजुएलाको तेलमाथि नियन्त्रण गर्नु हो।

‘हामी विश्वकै सबभन्दा ठूला अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने छौं। उनीहरूले अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने छन् र देशका लागि आम्दानी सुरू गराउने छन्,’ ट्रम्पले शनिबार पत्रकार सम्मेलनमा भने।

मदुरोको पक्राउ र ट्रम्पका यी अभिव्यक्ति यस्तो समय आएका छन्, जब विश्वकै सबभन्दा ठूलो तेल भण्डारमध्ये एक रहेको भेनेजुएलामा लगानी गर्न ठूला तेल कम्पनीहरू हतोत्साहित छन्। उनीहरूले विगतमा भेनेजुएलामा काम गर्दा खराब अनुभव भोगेका थिए।

शनिबारको सैन्य कारबाहीपछि ट्रम्पले दिएको अभिव्यक्ति यही अवस्थासँग सम्बन्धित छ। उनी ठुल्ठूला कम्पनीहरूलाई भेनेजुएला लगेर त्यहाँका तेल खानी उत्खनन् गराउन चाहन्छन् र त्यसबाट हुने उत्पादनमा अमेरिकाको वर्चश्व राख्न चाहन्छन्।

भेनेजुएला कुनै बेला विश्वकै ठूला तेल उत्पादक देशमध्ये एक थियो। यो पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का प्रमुख संस्थापकमध्ये पनि हो, जसका निर्णयले विश्वव्यापी तेल मूल्य निर्धारणमा ठूलो प्रभाव पार्छ।

ओपेकका अनुसार भेनेजुएलासँग विश्वकै सबभन्दा ठूलो प्रमाणित तेल भण्डार छ। अमेरिकी ऊर्जा सूचना प्रशासनले पनि भेनेजुएलासँग करिब ३०३ अर्ब ब्यारेल कच्चा तेल रहेको जनाएको छ। यो विश्वको कुल तेल भण्डारको करिब २० प्रतिशत हो। यही विशाल तेल भण्डारले देशको भविष्यमा केन्द्रीय भूमिका खेल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आगामी दिनमा ट्रम्पले भनेजस्तै अमेरिकाको नेतृत्वमा हुने पुनर्संरचनाले भेनेजुएलालाई धेरै ठूलो तेल आपूर्तिकर्ता बनाउन सक्छ। यसले पश्चिमी तेल कम्पनीहरूका लागि अवसर सिर्जना गर्न सक्छ र नयाँ उत्पादन स्रोत बन्न सक्छ। सँगसँगै, यसले विश्व बजारमा तेलको मूल्य नियन्त्रणमा राख्न सहयोग पुर्‍याउन सक्छ।

यद्यपि अहिलेको कम मूल्यका कारण केही अमेरिकी कम्पनीहरू भेनेजुएलामा लगानी गर्न निरूत्साहित पनि हुन सक्छन्। विश्वव्यापी तेल बजार अहिले अत्यधिक आपूर्तिको अवस्थामा छ। कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलरभन्दा तल छ। र, विश्व बजार विद्युतीय सवारीतर्फ सर्दै जाँदा दीर्घकालीन तेल माग कस्तो हुन्छ भन्ने स्पष्ट छैन।

अन्तर्राष्ट्रिय कम्पनीहरू भेनेजुएलाको तेल उत्पादनमा लगानी गर्न इच्छुक भए पनि त्यसका लागि लामो समय र ठूलो खर्च लाग्नेछ। भेनेजुएलाको सरकारी तेल तथा ग्यास कम्पनी ‘पिडिभिएसए’ का अनुसार उसका पाइपलाइनहरू पछिल्ला ५० वर्षमा अद्यावधिक भएका छैनन्। उत्पादनलाई पुरानै उच्च तहमा फर्काउन पूर्वाधार सुधार गर्न करिब ५८ अर्ब डलर लाग्ने अनुमान छ।