२० पुस

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो ।  आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गोली चलेको विषय, दमन भएको विषयमा तत्कालीन सरकार प्रमुखको हैसियतले केपी ओलीमाथि बयान लिन लागिएको हो । ओलीले उक्त दिन आफूले गोली चलाउने आदेश नदिएको प्रष्टिकरण सार्वजनिक कार्यक्रममा दिँदै आइरहेका छन् । तत्कालीन गृहमन्त्री लेखकले आयोगसमक्ष नै आफूले गोली चलाउने आदेश नदिएको बताइसकेका छन् ।