१३ मंसीर
अमेरिकाले तेस्रो मुलुकका नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
‘त्यस्ता कार्यक्रमका लागि निर्णय भएका व्यक्तिहरूबारे सुरक्षा जाँच पूरा नभएसम्म शरणार्थी कार्यक्रम रोकेका छौं,’ विभागका निर्देशक जो एड्लोले भने।
उनले अमेरिकी जनताको सुरक्षा पहिलो प्राथमिकता रहेको पनि बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तेस्रो विश्वका सबै देशबाट भित्रने आप्रवासीहरूलाई स्थायी रूपमा रोक लगाउने बताएका छन्।
‘म तेस्रो विश्वका सबै देशबाट हुने आप्रवासन स्थायी रूपमा रोक लगाउनेछु। अमेरिकालाई फाइदा नपुग्ने कसैलाई पनि हटाइनेछ,’ उनले भने। उनले सयौं सोमाली शरणार्थीहरू मिनेसोटाजस्तो एक समयको महान राज्यलाई कब्जा गर्न खोजेको आरोप लगाए। उनले डेमोक्र्याटहरूको पनि आलोचना गरे।
बिबिसीका अनुसार ट्रम्पले भनेको तेस्रो विश्व’ आर्थिक रूपमा कमजोर र विकासोन्मुख राष्ट्रहरू हुन्। यसअघि ट्रम्प प्रशासनले अफगानिस्तानसहित अफ्रिका र एसियाका ११ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेको छ। उनको पहिलो कार्यकालमा पनि मुस्लिम बहुल देशहरूलाई लक्षित गरेर यात्रा प्रतिबन्ध लागू गरिएको थियो।
ट्रम्पको यो निर्णय वाशिङ्टन डिसीमा सुरक्षाकर्मीमाथि गोली प्रहरा भएको घटनापछि भएको हो। सिराक्युज विश्वविद्यालयको ट्रानज्याक्शनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका अनुसार सन् २०२५ अगस्टसम्म करिब २२ लाखभन्दा धेरै शरणार्थीहरू अमेरिका प्रवेश गर्ने प्रतिक्षामा थिए।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूले पाएका ग्रीन कार्ड पुन जाँच हुनेछ।








