२९ असोज
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बापतको रकम गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका प्रभावितहरूमा खर्च गर्न पाउने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ मार्फत यो निर्णय गरेको हो। बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकले आफ्नो खुद मुनाफाको एक प्रतिशत रकम अनिवार्य रूपमा सीएसआरमा खर्च गर्नुपर्ने वाध्यकारी व्यवस्था छ।
संशोधित मार्गदर्शनअनुसार, जेन-जी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि (दोहोरो नपर्ने गरी) सम्बन्धित अस्पताललाई खर्च उपलब्ध गराउन सकिनेछ।
यसैगरी, आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्न सकिनेछ। यसका लागि नेपाल सरकार वा सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई तालिम प्रदान गरेको आधारमा तालिम संस्थालाई खर्च उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।









