२९ असोज
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ। कांग्रेस महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे कार्यलयमा दर्ता हुने जानकारी दिए।
बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भएको छ। एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार बोलाइएको कार्यसम्पादन समितिको बैठकसमेत स्थगित भएको थियो।
कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको छ । मंसिरभित्रै नियमित महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला सहमत छन् तर मंसिरमा नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनमा जाने भन्नेमा उनीहरू छन् ।
सभापति देउवा पक्ष भने मंसिरभित्र महाधिवेशन गर्न तयारी नपुग्ने बताउँदै आएको छ । संस्थापन पक्ष चुनावका लागि लाग्ने समयअनुसार महाधिवेशन गर्न सकिनेमा छन् । महामन्त्रीद्वय थापा र शर्मा यसमा सहमत छैनन् । उनीहरू मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् । अहिलेसम्म ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।
यही विषयमा सहमतिको बाटो खोज्न बैठक सुरु हुनुअघि नै महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलाई केहीबेर पछाडि धकेलेर सभापति देउवा निवासमा भएको उक्त छलफलले नै नेतृत्वबाट बहिर्गमनदेखि फागुन २१ को चुनावबारे पार्र्टीको धारणा र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादलाई सुरक्षित अवतरण गराएको नेताहरूको तर्क छ ।
कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कोइरालाले मंसिरभित्रै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने बताएका हुन् । उनले अगाडि भने, ‘नियमित महाधिवेशन हुनुपर्यो, मंसिरभित्रै हुनुपर्यो । योभन्दा तलमाथि हुनु भएन, केन्द्रीय समितिले यसबारे निर्णय गर्छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक ३० गते बस्ने भएको छ।








