Uml chairman Kp oli addresses the parliament meeting at baneshor Kathmandu on Monday, April 24, 2017 Photo: Nagarik/republica

२९ असोज

नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ। सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन्।

यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे पनि धारणा राख्नेछन्। जेनजी आन्दोलनका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने केही केन्द्रीय सदस्यहरूले बताउँदै आएका छन्।

सचिवालय बैठकमा पनि अध्यक्षबाट ओलीको राजीनामा र पार्टी पुनर्गठनबारे सघन बहस भएको थियो। तर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

एमालेको दसौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। मौजुदा कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी भए पनि विशेष परिस्थितिले महाधिवेशन पर सार्न लागिएको हो।