२९ असोज

पोखरा-१२ शितलादेवीको हिटिमार्गमा सोमबार बेलुकी पेस्तोल देखाएर स्थानीय महिलाको सुन लुट्ने युवक पक्राउ परेका छन् । यद्यपी, पेस्तोल नक्कली भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरा-१२ बस्ने देविकला अधिकारीलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई अनुसन्धान गर्दा जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. २० भलाम बस्ने वर्ष २४ को सुजन वि.क.लाई नक्कली पेस्तोल १ थान र उनले प्रयोग गरेको मोटरसाइकल सहित पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी करिब ८:३० बजे अधिकारीको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा उनले हार गुहार गरेपछि ती युवक भागेका थिए ।

ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकलमा आएका बिकले सिक्री तानेर कानको रिङ तान्न लाग्दा केही समय लछार पछार भएको र छिमेकीहरुले तुरुन्त प्रहरीलाई खबर गरेका कारण भाग्दा भाग्दै रामबजार प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

सुन लुछ्ने क्रममा महिलाले प्रतिकार  गर्दैगर्दा बिकको मोटरसाइकल ढल्यो । त्यस पछि हेलमेट नै लगाएर भागेका थिए ।

तत्कालै स्थानियले प्रहरीलाई खबर गरेपछि पोखरा–१२ को भेटनरी नजिकबाट रामबजार प्रहरीले युवालाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनका क्रममा हातहतियार लुटिएका र हजारौं कैदी अझै पनि फरार रहँदा समाजमा यसरी सुरक्षा चुनौती थपिएको छ । रातको समयमा बाहिर हिँडडुल गर्दा सावधानी अपनाउन प्रहरीले सूचित गरेको छ ।