१२ असोज
रास्वपाकी पूर्वनेता तथा सांसद सुमना श्रेष्ठले पार्टीकै मानिसहरूले आफूविरूद्ध फैलाएको झुटो प्रचारप्रति टिप्पणी गरेकी छन्।
शनिबार फेसबुकमा उनले चार बुँदामा आफ्ना भनाइ राखेकी हुन्। पार्टीभित्रै रहनुभएका र मलाई विश्वास गर्नु हुने साथीहरूलाई म प्रति फैलाइएको अनर्गल र झुटा प्रचारको विरूद्ध सचेत गराउन केही कुरा भन्न चाहेँ,’ उनले भनेकी छन्।
श्रेष्ठले आफ्नाविरूद्ध गलत प्रचार गर्नेहरूले इमान कुन ठाउँमा मिल्काएर आएको हो भन्दै प्रश्न गरेकी छन्। हामीलाई सुमनाले लाइभ आएर जंगी अड्डा जानबाट रोकिन् भनी मेरो विरूद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनभयो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र,’ उनले लेखेकी छन्।
व्यक्तिगत स्वार्थका लागि नैतिक धरातल र राजनीतिक मूल्य त्याग्नु अवसरवाद भएको भन्दै उनले लोकप्रियताका लागि मौन बस्ने वा दास मानसिकता देखाउने प्रवृत्तिलाई ‘हुतिहारापन’ को संज्ञा दिएकी छन्।
‘भ्रम र झुटको बादल हटेको दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ को पनि परीक्षण हुने नै छ। लोकप्रियताको बुइ चढेर मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ भन्ने पर्खाइमा आफ्नो स्वाभिमान बन्धकी राखेका केही साथीहरू देख्नुपर्दा लालच र निरीहता उर्बराउने डर पलाएको छ। याद राख्नुस्—लालच झाँगिदा ‘अवसरवाद’ मौलाउने हो। निरीहताले जरा गाड्दा ‘हुतिहारापन’ फस्टाउने हो,’ उनले लेखेकी छन्।








