११ साउन

काठमाडौं । आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसैगरी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहेको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।