११ साउन
पर्वत । भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको राहत सामग्री संविधान सभा सदस्य अर्जन प्रसाद जोशीले हस्तन्तरण गर्नु भएको थियो । राहात सामाग्री हस्तान्तरण गर्दै जोशीले मृतकहरु प्रति श्रद्धान्जली अर्पण गर्नुभयो । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भयो ।
गत साउन चार गते बिहानीपख घरभन्दा करिब १० मिटर माथिबाट खसेको पहिरोले घरको भित्ता फुटाउँदा सोही घरमा सुतिरहेका लाङ्दीका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती बि।क।को मृत्यु भएको थियो । पहिरोमा पुरी मृतक दम्पतीकी बुहारी ३२ बर्सिया पवित्रा बि।क। घाइते भएकी थिइन् ।
पहिरोका कारण मानवीय सहित घरको भौतिक संरचनामा समेत क्षति पुगेपछि परिवारका सदस्यहरूको दैनिकीलाई सहज बनाउन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा पर्वतका सभापति रुद्र बहादुर रिमाल, देउराली उपशाखा तथा तिलाहार देउपुर उपशाखाका सभापतिहरू सहित राजनीतिक दलका नेताहरूको टोलीले सामग्रहीहरु उपलब्ध गराएको हो ।
रेडक्रसको तर्फबाट दुई थान त्रिपाल, ब्लाङक्वेट दुई थान, बाल्टी, पानी ओसारपसारका सामग्रीहरू, खाना पकाउने तथा खाने भाँडाहरू, डबल म्याट लगायतका बन्दोबस्तका सामग्रीहरू सहयोग गरिएको हो ।
रेडक्रस पर्वत शाखाका सभापति रिमालले यस्ता घट्नाहरु घट्नु अगाडि सतर्कता अपनाउन आग्रह गर्दै अब डेंगू, कोभिड जस्ता प्रकोपहरूबाट समेत बच्नुपर्ने बेला आएको बताए । विभिन्न रोगहरूको प्रकोप पनि उत्तिकै जोखिमपूर्ण रहेकोले प्राकृतिक विपद्को बेलामा त्यसतर्फ पनि सचेत हुनुपर्ने सभापति रिमालको भनाइ छ ।









