१७ वैशाख
काठमाडौँ । गत चैत २० गतेदेखि आन्दोलित राष्ट्रिय शिक्षक महासंघको आन्दोलन जारी रहेको छ । सरकारसँग वार्ता भइरहे पनि ठोस निष्कर्षमा पुग्न नसक्दा शिक्षकहरु अलमलमा छन् । सरकार गलाउने अभियानमा रहँदा शिक्षकहरु पनि नथाक्ने अडानमा छन् ।
जसका कारण सामुदायिक विद्यालयका विद्यार्थी शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भइरहेका छन् । गत बैशाख २ गतेदेखि नयाँ भर्ना अभियान चलेकामा त्यो अभियानको समय सकिएको छ भने अहिलेसम्म नयाँ शैक्षिक सत्र शुरु नै हुन सकेको छैन ।

एसईईको कपी परीक्षण भएको छैन भने कक्षा १२ को परीक्षा फेरि पनि सर्ने सम्भावना छ । आजै भोलिमा शिक्षकको आन्दोलन स्थगित नभए बैशाख २१ गतेदेखि हुने १२ को परीक्षा फेरि सर्न सक्छ । गत बैशाख ११ गते हुने भनिएको परीक्षा १० दिन सरेको थियो ।
यसैबीच सरकार र शिक्षकहरुबीचको वार्ता पनि चलिरहेकै छ । गएरातिको वार्ता सकारात्मक भएको भन्दै शिक्षकहरु बिहान आन्तरिक छलफलमा छन् ।
उनीहरुले बिहान ११ बजेदेखि तीन घण्टासम्म चल्ने सडक आन्दोलनअघि आन्तरिक वार्तालाई ठोस निष्कर्षमा पुर्याउने अनि आन्दोलन सकिएपछि अर्थात् २ बजेपछि सरकारसँग वार्तामा बस्ने भएका छन् ।
२९ दिनदेखि जारी आन्दोलनमा शिक्षकहरुको संख्या घट्दै गएको छ । शिक्षकहरु फर्केर घरसमेत गइसकेका छन् । ल्याएको रकम सकिएपछि उनीहरु फिर्ता गएको शिक्षकहरुले नै बताएका छन् ।
पहिलेजस्तो शिक्षक आन्दोलन बाक्लो पनि छैन । यसैले पनि शिक्षक महासंघ अब जतिसक्यो छिटो सहमति गरेर काममा फर्कने नैतिक दबाबमा छ । शिक्षक महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषय उठाएको छ ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
तर पछिल्लो समय भने शिक्षकको संख्या पनि घट्दै गएको छ । २६ औँ दिनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँगको झडपमा ३१ जना घाइते भएका थिए ।
उक्त दिन घुसपैठ भएपछि उक्त घटना भएको हो । त्यसपछि भने शिक्षक संयमित भएर निषेधित क्षेत्र नतोड्न आग्रह गर्दै आएका छन् ।
वार्ता आजै निष्कर्षमा पुग्ने दाबी
वार्ता आजै निष्कर्षमा पुग्ने दाबी गरिएको छ । यसमा शिक्षकहरु पनि उत्साही छन् भने सरकार पनि उत्साही देखिएको छ । मंगलबार राति वार्तापछि सञ्चारकर्मीसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सरकारले गरिरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै आज टुंगोमा पुग्ने बताएका हुन् ।
मन्त्री पन्तले शिक्षकहरूसँगको सहमति सम्भव भएसम्म छिटो टुंगो लगाउन सरकार प्रयासरत रहेको बताए । वार्तामा शिक्षकहरू पनि सकारात्मक रूपमा प्रस्तुत भएको बताइएको छ।
शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीच मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म छलफल भएको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको पनि सहभागिता थियो।
महासंगघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक भएपछि मंगलबार पुनः छलफल भएको हो।









