१२ चैत्र
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । सहचालक घाइते छन् ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०–३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुरप्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो । टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









