११ चैत्र
पर्वत। पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका युवाहरूको स्वयंसेवी अभियानअन्तर्गत घुम्ती–ढाँड सडक खण्डमा सरसफाइ गरिएको छ ।
वर्षयामले भत्काएको सडकलाई सुधार गरी सवारी दुर्घटना कम गर्नका लागी घुम्तीबाट माथि रहेको जङ्गल, भिर र पहिरोमा नाली खुलाउने, झाडी सरसफाइ र पिच तथा ढलानमा परेका खाडलहरू पुर्ने कामहरू गरिएको खुर्कोट युवा क्लवका अध्यक्ष कृष्ण प्रसाद शर्माले वताए। स्वयंसेवी अभियान अन्तर्गत तेस्रो दिनमा उक्त सडक खण्डको सरसफाइ गरिएको हो । चैत दुई गतेबाट यो अभियान चलिरहेको छ । शनिवारको अभियानमा करिब ५० जना स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकहरू लगायतको सहभागिता रहेको थियो ।

यो अभियानले सामुदायिक विकासमा पनि नयाँ आशाको सञ्चार गराएको शर्माले बताए । अभियानमा जनप्रतिनिधिका रूपमा वडा सदस्य भिमनिधि रेग्मी र निरुता परियार पनि स्वयंसेवी सदस्यको रूपमा सहभागी भएर युवाहरूको अभियानमा हौसला प्रदान गरेका थिए ।

स्थानीयवासीले स्वतःस्फूर्त रूपमा खाजा, पानी, चिया सौजन्य गर्ने र अभियानलाई सहयोग गर्ने गरिरहेका छन् । यो कामको बारेमा सार्वजनिक प्रचारप्रसार नगरिएको तर काम सुरु भएको जानकारी प्राप्त गरेकै आधारमा भइरहेको स्वतःस्फूर्त सहभागिताले सामाजिक एकता र जनश्रमदानको महत्त्व बढाएको अभियानमा सहभागीहरूले बताएका छन् । खुर्कोटको ज्येष्ठ र अग्रणी नागरिक सङ्गठन ’खुर्कोट युवा क्लब’ले लिएको स्थापना कालिन मर्म र स्वयंसेवी सामुदायिक विकास अभियानको पुनर्जागरण गराएको अध्यक्ष शर्माले वताए ।









