२२ असोज

पोखरा । धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका रसियाली ५ आरोही मंगलबार मृतावस्थामा भेटिएका छन् । उनीहरु गत आइतबारदेखि हराइरहेका थिए ।

७ हजार १ सय मिटरमाथि भेटिएका ती आरोहीको शव हेलिकोप्टरबाट उद्धार गरिएको छ । हराइरहेका आराहीको खोजी हेली एभरेस्टको हेलिकोप्टरमार्फत् गरिएको थियो । ७ हजार ६ सय मिटरको उचाइबाट उनीहरु खसेको अनुमान गरिएको हेली एभरेस्टका निर्देशक मिङ्मा शेर्पाले बताए ।

अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए ।

हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसिनका प्रवन्ध निर्देशक जाङ्बु शेर्पाले बताए । उनका अनुसार आराहीले ११ बजे अन्तिमपटक बेस क्याम्पमा रहेका साथीहरुसँग सम्र्पक गरेका थिए ।

आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।