२२ साउन

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पद छाडेर विदेश पलायन भएकी छिन् । उनी बंगलादेश छाडेर भारत गएकी छिन् । त्यहाँबाट पनि उनी बेलायत जान सक्ने आँकलन गरिएको छ । हसिनाले पदबाट राजीनामा दिएर विदेश भागेकी हुन् । उनीसँग उनकी बहिनी पनि साथमा रहेकी छिन् । उनीमाथि आक्रमण हुने र मार्न सक्ने खतरा रहेको थाहा पाएपछि उनी देश छाडेर भागेकी हुन् ।

बंगलादेशका सैन्य प्रमुख वकार उज जमानले अन्तरिम सरकार बनाउने बताएका छन् । देशभर सेना तैनाथ भएका छन् ।

केही समयअघिसम्म हसिनालाई दुनियाँकी प्रभावशाली नेतृमा गनिन्थिन् । उनलाई बंगलादेशको अर्थतन्त्र बदल्ने मसिहाका रुपमा पनि चिनिन्छ ।  तर यस्तो के भयो कि १५ वर्षको हसिनाको शासन नराम्रोसँग ढल्यो कि अब कहिल्यै उनी बंगलादेशको सत्ता सम्हाल्ने छैनन् भने जसरी ।

पतनको शुरुआतका तीन कारण
पहिलो कारणः आरक्षण

उनको पतनको शुरुआत दुई महिना पहिले गत जुन ५ तारिखबाट भएको थियो । ढाका उच्च अदालतले फैसलाले यसको शुरुआत गराएको थियो ।

यो फैसला थियो आरक्षणको । बंगलादेश सन् १९७१ मा स्वतन्त्र भएको थियो । हसिनाका बाबु एवं बंगलादेशका संस्थापक शेख मुजिबुर्रहमानको अगुवाइमा बंगलादेश स्वतन्त्र भएको थियो ।  आज उनै मुजिबुर्रहमानको मूर्ति तोडफोड गरेर अर्को स्वतन्त्रताको स्वास लिएका छन् आन्दोलनकारीले ।

सन् १९७१ मै बंगलादेशमा ८० प्रतिशत कोटा प्रणाली लागू भयो । बंगलादेशी अखबार द डेली स्टारको रिपोर्टअनुसार यो ८० प्रतिशतमा स्वतन्त्रता सेनानीका सन्तानलाई जागिरमा ३० प्रतिशत, पिछडा जिल्लाका लागि ४० प्रतिशत, महिलाका लागि १० प्रतिशत आरक्षण दिइयो । सामान्य छात्रका लागि केबल २० प्रतिशत सिटमात्र राखियो ।

केही विरोधको आवाज आएपछि सन् १९७६ मा पिछडिएको जिल्लाका लागि आरक्षण घटाएर २० प्रतिशत गरियो । सामान्य विद्यार्थीका लागि यसले केही राहत दियो । उनीहरुका लागि ४० प्रतिशत सिट भयो ।

सन् १९८५ मा पिछडिएको जिल्लाका लागि आरक्षण सिट अझै घटाएर १० प्रतिशतमा झारियिो र अल्पसंख्यकको कोटा ५ प्रतिशत जोडियो । यसबाट सामान्य विद्यार्थीका लागि ४५ प्रतिशत सिट भयो ।

शुरुआतमा स्वतन्त्रता सेनानीका सन्तानले पाउने आरक्षण केही वर्षपछि खाली हुन थाल्यो । यसको फाइदा सामान्य विद्यार्थीले लिन पाउँथे । तर सन् २००९ मा हसिनाको सरकार आएपछि फेरि स्वतन्त्रता सेनानीका नाति–पनातीले पनि आरक्षण पाउन थाले ।

यसले सामान्य विद्यार्थीहरुको चिन्ता बढ्न गयो । सन् २०१२ मा विकलांग विद्यार्थीका लागि १ प्रतिशत कोटा जोडियो ।यसबाट कुल कोटा ५६ प्रतिशत हुन पुग्यो । सामान्य वर्गका लागि ४४ प्रतिशत सिट बच्यो ।

सन् २०१८ मा चार महिनासम्म विद्यार्थीले आन्दोलन गरेपछि हसिना सरकारले कोटा प्रणाली नै खारेज गर्यो । हसिना सरकारको मान्यता थियो थियो कि यदि स्वतन्त्रता सेनानीका परिवारलाई आरक्षण मिल्दैन भने कसैले पनि पाउँदैनन् ।

तर अचानक ढाका उच्च अदालतले गत जुन ५ तारिखमा सरकारलाई सन् २०१२ को आरक्षण प्रणाली लागू गर्न आदेश दियो ।

अदालतले सन् २०१८ भन्दा पहिले जसरी आरक्षण मिल्थ्यो त्यसलाई त्यही अनुसार नै लागू गर्न आदेश दियो । यसबाट सामान्य वर्गका विद्यार्थी भड्किए र सडकमा उत्रिए । जसका कारण दुई महिनापछि अगस्त ५ तारिखमा हसिना सरकार नै ढल्यो ।

दोस्रो कारणः प्रदर्शनकारीलाई पाकिस्तानी समर्थक भन्नु वा गद्दार भन्नु
हसिनाले गत १४ जुलाईमा स्वतन्त्रता सेनाकीका सन्तानले आरक्षण पाउनु पर्ने अडानमा जोड दिँदै यदि उनीलाई आरक्षण नमिले के पाकिस्तान समर्थक अर्थात् रजाकार वा गद्दारलाई आरक्षण मिल्छ त ? भनी उल्टै भड्काउने अन्तर्वार्ता दिइन् ।

हसिनाको यो भाषणले आरक्षण विरोधी आन्दोलन हिंश्रक बन्न पुग्यो । खासमा बंगलादेशमा गद्दारलाई रजाकार भनिन्छ । प्रदर्शनकारी विद्यार्थीले उक्त सरकारी टेलिभिजन च्यानलमा आगो लगाइदिए जहाँ हसिनाले अन्तर्वार्ता दिएकी थिइन् ।

जब प्रदर्शन हिंश्रक भयो तब एक महिनामै तीन सय भन्दा बढीको ज्यान गयो । ज्यान गुमाउने अधिकांश विद्यार्थी नै हुन् । मिडिया रिपोर्टअनुसार हसिनाले प्रदर्शनकारीहरुलाई अपमान गर्ने गरी जनताका बीचमा उनीहरुको छवि बिगार्न गद्दार भनेर बोलाउन थालेकी थिइन् ।

आफ्नै देशका विद्यार्थीलाई गद्दार भनेर हसिनाले आफ्नै खुट्टामा बञ्चरोले हान्न पुगिन् । विद्यार्थीहरुले ‘रजाकार’ शब्दलाई नै सरकार विरुद्धको हतियार बनाए । विद्यार्थीले परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई कसरी हसिना सरकारले गद्दार भनिरहेको छ भनी जनता सामु राखे ।

हसिनामात्र होइन उनको पार्टीका बाँकी नेताले पनि हसिनाकै शैलीमा बयान दिँदै हिँडेर आन्दोलनलाई थप भड्किन दिए ।

तेस्रो कारणः हसिना विद्यार्थीको मृत्युमा मौन तर सरकारी क्षतिको चिन्ता
हसिनालाई आफ्नो देश छाडेर भाग्न पर्ने कारण अरु कोही नभइ उनी आफैँ थिइन् । भड्किएको हिंसाबीच थुप्रै सरकारी सम्पत्ति नोक्सान भयो ।

थुप्रै विद्यार्थीको ज्यान जानुका साथै थुप्रै घाइते भएका छन् । हसिना यसको चिन्ता गर्नुको सट्टा विद्यार्थीले पारेको क्षतिको निरीक्षण गर्न गइन् । उनी गत जुलाई २५ तारिखमा मीरपुर–१० को मेट्रो स्टेशनको भ्रमणमा गएर मेट्रो स्टेशनमा भएको तोडफोड देखेर आँशु निकालिन् ।

जबकि त्यतिन्जेल २०० विद्यार्थीको ज्यान गइसकेको थियो । विद्यार्थीको मृत्युमा एक शब्द पनि उनले बोलिनन् । जब कि जुलाईमा विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छ विदार्थीलाई अनुसन्धान शाखाले सुरक्षित राख्ने नाममा ६ दिनसम्म बन्धक बनाएको थियो ।

यिनीहरुमध्ये तीन जना घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचार चलिरहेको थियो । अस्पतालबाटै उठाएर उनीहरुलाई बन्धक बनाइएको थियो । अनि जबरजस्ती आन्दोलन फिर्ता लिएको घोषणा गर्न लगाइयो । जबरजस्ती भिडियोमा बोल्न लगायो ।

यसको जानकारी गृहमन्त्री दाबीसहित दिँदै आए । तर जब यसको वास्तविकता पर्दाफास भयो तब विद्यार्थी झ्न भड्किँदै गएपछि हसिना सरकार नै ढल्न पुग्यो ।

हसिना भारतबाट बाहिरिइन्

प्रधानमन्त्री पदबाट राजीनामा दिइ बंगलादेशबाट भागेर भारत आएकी शेख हसिनाले भारत छाडेकी छिन् । हिंडन एयरबसमार्फत सोमबार साँझ स्थानीय समयअनुसार भारतको हिंडन आएकी हसिना मंगलबार बिहान भारत छाडेकी हुन् ।

सी–१३० ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उनले भारत छाडेकी हुन् । यद्यपि उनी कहाँका लागि उडिन् भन्ने यकिन भएको छैन ।मिडिया रिपोर्टसका अनुसार उनी बेलायतको लण्डन वा फिनल्याण्ड वा अन्य कुनै देशमा जानसक्ने आँकलन भइरहेको छ ।