Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

१ असार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन् । साथै उनले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेश सभा सदस्यलाई थेग्न नसक्ने बताए ।

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’ मा उनले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको सङ्ख्या घटाउनुपर्ने बताए ।

महामन्त्री थापाले सङ्घीय सरकारमा १० देखि १२ जनामात्र मन्त्री बनाउनुपर्ने विचार व्यक्त गरे । उनले केन्द्रजस्तै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने बताए । पूर्वमन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सृजना गरेको उल्लेख गरे ।उनले संविधान संशोधनलगायत विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग कांग्रेसले छलफल गरे पनि सरकार परिवर्तनका निम्ति कसैसँग छलफल नगरेको स्पष्ट पारे ।