६ वैशाख
एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्।सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्।
उनको शपथ बिहीबार साँझ ७ बजेलाई तय गरिएको छ। यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई जना सांसदले समर्थन जुटाएर छुट्टाछुट्टै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
एकै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँले अध्ययन र आवश्यक परेको खण्डमा सांसदको सनाखत गराउने भन्दै वैशाख ४ गतेसम्मका लागि समय दिएका थिए।

प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका उन्मुक्तिका दुवै जनासँग स्पष्ट बहुमत नभएको भन्दै मुख्यमन्त्रीका पुनः दाबी पेश गर्न आह्वान गरे।
बिहीबार मुख्यमन्त्रीमा दाबी पेशका लागि अन्तिम समय तोकिएको थियो। सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित समर्थन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेश गरे।
बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनेका सोडारी चौथो मुख्यमन्त्री बनेका छन्। उनी २०७४ सालमा नेकपा एमालेबाट कैलालीको क्षेत्र नम्बर ४ बाट प्रदेश सभामा चुनाव जितेर सामाजिक विकास मन्त्री बने। २०७७ सालमा महिलासँगको अश्लील संवाद बाहिरिएपछि उनी मन्त्रीबाट हटाइएका थिए। तत्कालीन नेकपाले उनलाई निलम्बन गरेको थियो।
तर नेकपा विभाजनपछि भने उनको कारबाही फुकुवा भएको थियो। पार्टी फुटेपछि उनी माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीमा सामेल भए। केन्द्रमा पाँच दलको गठबन्धन बन्यो। तदनुसार प्रदेशमा पनि सोही अनुसार सरकार बन्यो।









