९ चैत्र
पर्वत। विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा पर्वतमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष मार्च २४ तारिकका दिन विश्व क्षयरोग दिवस मनाइँदै आइएको छ। यस वर्ष पर्वतमा क्षयरोग दिवस होली पर्वका कारण २२ तारिकमा अन्तरक्रियात्मक कार्यक्रम गरेर मनाएको हो । स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा “हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद गरिएको हो।
कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका सञ्चार कर्मीहरू, क्षयरोग कार्यक्रम साझेदार निकायका प्रतिनिधि, पर्वत अस्पताल प्रयोगशाला प्रतिनिधिको गरी २३ जनाको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका ल्याब टेक्निसियन निरीक्षक तथा क्षयरोग कार्यक्रम संयोजक उज्जल तिवारीले क्षयरोगको बारेमा जानकारी गराउँदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको बारेमा सहजिकरण गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले समुदायमा क्षयरोग सम्बन्धी सचेतना फैलाउन सबै मिडिया कर्मीहरुलाई क्षयरोगको निवारणका लागि समाचार प्रकाशन प्रसारण गरी सहयोग गर्न समेत आग्रह गरे।
क्षयरोग लागेको बिरामीले खोक्दा हाच्छ्युँ गर्दा खकारबाट क्षयरोगका कीटाणुहरू हावामा निस्कने र श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने हुन्छ ।

क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आँखाले देख्न नसकिने कीटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलन सक्ने सम्भावना बढी रहेका कारण सबै सजक रहन र भिडमा जाँदा मास्कको प्रयोग गन्नुपर्ने हुन्छ ।
क्षयरोगका बिरामीले नियमित रुपमा ६ महिना सम्म नियमित औषधी सेवन गन्नुपर्ने र नियमित उपचार गरेमा क्षयरोग पूर्णरुपमा निको हुने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । क्षयरोगका बिरामीहरूलाई नेपाल सरकार वाट निःशुल्क औषधी वितरण भइरहेको छ ।
पर्वतमा यस आवमा ४३ जना क्षयरोगका बिरामी भेटिएकोमा नियमित औषधी लिइरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगका बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क रहेको छ ।
स्वास्थ्य कार्यालय पर्वतले आज आयोजना गरेको कार्यक्रममा उपस्थित पत्रकारहरुले क्षयरोगका बारेमा जिज्ञासा तथा सुझाव राखेका थिए । स्वास्थ्य कार्यालय पर्वतमा निमित्त प्रमुख तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयका तथ्याकं सहायक रामचन्द्र सुवेदीले गरेका थिए।









