२ फागुन
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई समय दिएका थिए ।
‘विगतका बैठकदेखि संसदमा प्रश्न उठ्दै आएको छ । तर प्रश्नको सामना गर्नुको साटो प्रधानमन्त्री भागेर हिँड्नुभएको छ’, पौडेलले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर डवल स्ट्यान्ड देखाउनुभएको छ ।’
उनले अहिलेको गृहमन्त्री पहिला प्रश्न गर्ने ठाउँमा भए पनि अहिले आफूमाथि नै प्रश्न बोकेर गृहमन्त्रीका रूपमा कसरी काम गर्नुहुन्छ भनेर प्रश्न गरे ।
‘उहाँ गृहमन्त्री हुनुहुँदैन थियो, प्रधानमन्त्रीले पनि उहाँलाई गृहमन्त्री बनाउनुहुँदैन थियो । ३१ हजार सहकारीका बचतकर्ता पीडित छन् । त्यस्तै अनुसन्धानको घेराभित्र रहको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा । सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ?’ उनले भने, ‘म गृहमन्त्रीलाई भन्न चाहन्छु–उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
साथै उनले प्रधानमन्त्रीज्यू प्रश्नै प्रश्नले घेरिएका मानिससँग बसेर सुशासन कसरी लागु गर्नहुन्छ ? भनेर प्रश्न गरे ।










