९ माघ
पर्वत। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा लाग्ने सबैको भलो हुने बताउनुभएको छ । पार्टीमा लागेर केहि पाइएन भनेर चित्त दुखाउन नहुने बताउँदै देउवाले पार्टीमा क्रियाशिल कार्यकर्ताको पार्टीले मुल्याकंन गर्ने बताउनुभएको हो । नेपाली काँग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई पर्वत सदरमुकाम कुश्माबजारमा सम्वोधन गर्दै सभापति देउवाले काङ्ग्रेसका नेता कार्यकर्ताहरुलाई कसैलाई काखा र कसैलाई पाखा नगरिने बताउनुभयो । उहाँले पार्टीमा मेलमिलापको आवश्यकता रहेको सभापति देउवाले बताउनुभयो । देउवाले कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदीवासी जनजाती, अपाङ्गता भएकाहरुको प्रतिनिधित्व हुने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोईरालाले मुलुकलाई धर्म निरपेक्षतावाट हटाउनुपर्ने बताउनुभयो । उहाँले धर्मका कारण समाजमा कुनै पनि विखण्डन हुन नहुने बताउनुभयो । नेपाली जनताले धर्मका बारेमा राखेका धारणालाई नेतृत्वले बुझेर पार्टीको नीतिमै धर्म सापेक्षता घोषणा गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारले राम्रो काम गरेर जनताको मन जित्नुपर्ने उल्लेख गर्नुभयो । कोईरालाले विश्वासको वातावरण बनाउन सरकारलाई आव्हान गर्नुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीमा देखिएका कमजोरी केलाउन नेतृत्वलाई आग्रह गर्नुभयो । भण्डारीले आफूले केहि नगर्ने तर अरुलाई दोष देखाउने प्रवृति फैलिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनताले चाहेका कुराहरु समाधान तत्काल गर्न नसक्ने र दोष अरुलाई देखाउने समस्या रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलिया, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल, महाधिबेशन प्रतिनिधी मुना भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति यूवराज जोशीले जनजिविकाका सवालले नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । किसानलाई बाँदरले सताएको, पानीको समस्याले गाउँ रित्तिएको, गाउँमा आर्थिक अवस्था कमजोर हुँदा यूवा बिदेशिएको समस्या बारे नेतृत्वले सोच्नुपर्ने जोशीले बताउनुभयो । सभापति जोशीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पार्टी उपसभापति डा. चुडामणी शर्माले गर्नुभएको थियो भने धन्याबाद मन्तव्य उपसभापति शिवप्रसाद सुबेदी र सञ्चालन सचिवहरु अशोक उचै ठकुरी र गुप्तनिधी शर्माले गर्नुभएको थियो ।









