१८ पुस
जापानको राजधानी टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ। मंगलबार सापोरो सहरको न्यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको हुनसक्ने स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।
विमानमा चालक दलसहित ३७९ जना सवार थिए। उनीहरू सबै जना सुरक्षित रहेको क्योडोले समाचारमा उल्लेख गरेको छ।
जापान एयरलाइन्सका अनुसार विमान अवतरण गर्ने क्रममा रनवेमा अर्को विमानसँग ठोक्किएको हुनसक्ने बताइएको छ।
जापानमा ७.६ म्याग्नेच्युटको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ। राहत वितरणको लागि निगाटा जान लागेको उक्त विमानसँग जापान एयरलाइन्सको विमान ठोक्किएको हो।
त्यहाँको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले आगलागी कसरी भएको हो भन्नेबारे छानबिन गरिरहेको बताएको छ। अहिले हानेदा विमानस्थलका सबै उडानहरू स्थगित छन्।









